धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५, निराजन बस्तीस्थित झण्डा पार्क नजिक प्रहरीले तीन जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले विशेष सूचनाका आधारमा लक्ष्मण परियारको घरमा छापा मारेको थियो। सो क्रममा प्रहरीले ट्रमाडोलका २१० क्याप्सुल र नगद एक लाख तीन हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा घरधनी २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई र १९ वर्षीय सन्देश गुरुङ रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
