काठमाडौं ।
देशको वाम राजनीतिक वृत्तमा आज एक ऐतिहासिक घटनाक्रम हुँदैछ । नेकपा (माओवादी केन्द्र) सहित नौ वटा दलहरू एकै छातामुनिआउँदै छन् ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा “बृहत् एकता घोषणा कार्यक्रम” आयोजना गरिएको छ । कार्यक्रममा नौ वामपन्थी दलबीच औपचारिक रूपमा पार्टी एकता घोषणा गरिनेछ ।
एकतामा सहभागी दलहरूमा — माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपाल — रहेका छन् ।
घोषणापछि नयाँ पार्टी “नेपाली कम्युनिष्ट पार्टी” नामबाट निर्वाचन आयोगमा दर्ता गरिने तयारी भएको माओवादी प्रवक्ता सापकोटाले बताएका छन् । पार्टीको चुनाव चिह्न “पाँच कुने तारा” रहनेछ ।
कार्यक्रममा एकीकृत पार्टीको संयोजक र सह–संयोजकको नाम पनि सार्वजनिक गरिने तयारी गरिएको छ । नेताहरूले यस एकतालाई वाम राजनीतिक स्थायित्व र मुलुकको राजनीतिक दिशालाई नयाँ मोडमा डोर्याउने ऐतिहासिक कदमको रूपमा लिएका छन् ।
