काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बालअधिकारका विषयलाई राजनीतिक घोषणापत्रको केन्द्रमा राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।
सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले आज जारी गरेको विज्ञप्तिमा राजनीतिक दलहरूले निर्वाचन र अन्य गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न चेतावनी दिएका छन्। उनले निर्वाचन आचारसंहितामा विद्यालयलाई मतदान केन्द्र नबनाउने व्यवस्था समावेश गर्न र त्यसको कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्।
विज्ञप्तिमा सिजपले नेपालले अनुमोदन गरेको बालअधिकार महासन्धि, १९८० र नेपालको संविधानमा उल्लेखित मौलिक हकअनुसार बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न नपाइने, र सांस्कृतिक वा धार्मिक नाममा कुनै पनि किसिमको शोषण, दुर्व्यवहार वा उपेक्षा गर्न निषेध गरिएको कुरा स्मरण गराएको छ।
त्यसैगरी, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६ अनुसार बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै सिजपले सबै दलहरूलाई त्यसको पालना गर्न आह्वान गरेको छ।
सिजपले जेनजी आन्दोलनपछि बनेको सरकारले अझैसम्म महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त नगरेकाप्रति चिन्ता व्यक्त गर्दै तत्काल मन्त्रालयमा योग्य व्यक्तिको नियुक्ति गर्न माग गरेको छ। साथै, अठार वर्षभन्दा कम उमेरका बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षण अधिकार सुनिश्चित गर्न विद्यालय बन्द, हड्ताल, र्याली तथा राजनीतिक क्रियाकलापमा उनीहरूलाई प्रभावित हुन नदिने वातावरण बनाउन सरकार र सरोकारवालालाई आग्रह गरिएको छ।
