झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।
क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यातमा अलैंची, चिया, प्लाइ, भेनियर, अदुवा र अम्लिसो प्रमुख वस्तुका रूपमा रहेका छन्।
कार्यालयका तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा बढी अलैंची रु १ अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख, र अम्लिसो रु १९ करोड ५९ लाख बराबर निर्यात गरिएको हो।
यस्तै, अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु ९ करोड ४७ लाख, जडीबुटी रु १ करोड २४ लाख, र मसुरो दाल रु ७ करोड ४१ लाख बराबरको वस्तु पनि निर्यात भएको कार्यालयले जनाएको छ।
यसै अवधिमा पूर्वी नाकाबाट रु १ अर्ब ४५ करोड १३ लाख ६५ हजार बराबरका कृषिजन्य वस्तु आयात भएका छन्। आयात हुने मुख्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, तरकारी, फलफूल, लसुन, मकै र पशु दाना रहेका छन्।
क्वारेन्टिन कार्यालयका अनुसार आलु रु ३० करोड ७७ लाख, फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, कोदो रु ६ करोड २० लाख, चामल रु ४ करोड ९६ लाख, र तरकारी रु ३ करोड ६ लाख बराबरको आयात भएको छ।
कार्यालयका सूचना अधिकारी ठाकुरले भने, “पूर्वी नाका हुँदै हुने निर्यात र आयातको मात्रा दुवै बढ्दै गएको छ, जसले प्रदेशको कृषि व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।”
