काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिको सिफारिसका आधारमा भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
बढुवा समितिको बैठक केही दिनअघि सम्पन्न भएको थियो। सो बैठकले कार्यसम्पादन मूल्याङ्कन, सेवा अवधि र योग्यता मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि योग्य ठहर गर्दै सिफारिस गरेको हो।
गृह मन्त्रालयले बढुवा समितिको सिफारिस स्वीकृत गर्दै पाँचै जनाको डीआईजीमा बढुवाको निर्णय गरेको जनाएको छ। यससँगै नेपाल प्रहरीमा डीआईजीको संख्या थपिएको छ।
