सुनसरी- धरानका खानेपानी सेवाग्राहीका लागि अब लाइन बस्ने र कार्यालय धाउने झन्झट अन्त्य हुने भएको छ। धरान खानेपानी व्यवस्थापन बोर्डले सोमबारदेखि खानेपानीको बिल अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ। साथै, नयाँ धारा जडानका लागि निवेदन दिनेदेखि बोर्डको हिसाबकिताब हेर्नेसम्मका सेवा मोबाइल एप र वेबसाइटबाट उपलब्ध हुने भएका छन्।
डिजिटल प्रणालीको औपचारिक शुभारम्भ बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले सञ्चारकर्मीहरूमाझ गरेका हुन्। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिने उद्देश्यले बोर्डलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको उनले बताए।
अब सेवाग्राहीले खानेपानीको बिलिङ, आर्थिक विवरण हेर्न र भुक्तानी गर्न घरमै बसेर अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन्। निवेदन, फाराम भर्ने, नयाँ धारा जडानको आवेदन दिने तथा व्यक्तिगत अभिलेखसमेत मोबाइल एप र वेबसाइटमार्फत उपलब्ध गराइएको बोर्डले जनाएको छ।
अध्यक्ष बेघालेले डिजिटल प्रणालीमार्फत बोर्डको लेखा प्रणालीलाई पारदर्शी बनाउने लक्ष्य लिइएको स्पष्ट पार्दै आवश्यक ऐन, नियम र कानुन निर्माणको प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिए। साथै, छिट्टै खानेपानी बोर्डको अडिट गरी प्रतिवेदन सार्वजनिक गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
डिजिटल सेवाको सुरुवातसँगै धरानका खानेपानी सेवाग्राहीले अब छरितो, विश्वासिलो र समय बचत हुने सेवा पाउने अपेक्षा गरिएको छ।
