सुनसरी- हरेक वर्ष फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवस यस वर्ष नेपालमा ‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान’ नारासहित मनाइँदैछ। नाराले सिमसार क्षेत्रसँगै मानव परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएको छ।
सिमसार भन्नाले पानी जमेको क्षेत्र, दलदल, ताल, पोखरी, नदी, खोला, झरना, धानखेत लगायतका क्षेत्रलाई जनाउँछ। यी क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण छन्। सिमसारले लाखौँ चराचुरुङ्गी, माछा, उभयचर, कीटपतङ्ग र वनस्पतिका लागि बासस्थान प्रदान गर्छ। नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३, २० प्रजातिका मेरुदण्डी जीवमा १७ र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन्।
तर पछिल्ला वर्षमा मानव गतिविधि, जलवायु परिवर्तन, अव्यवस्थित निर्माण, बढ्दो जनसंख्या, प्रदूषण र सिमसारजन्य स्रोतको अत्यधिक दोहनले यी क्षेत्र संकटमा छन्। वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार बाढी–सुक्खा अवस्थाको दोहन, रासायनिक मल र विषादीको प्रयोग, बाह्य मिचाहा प्रजातिको प्रवेश र परम्परागत कृषि प्रणालीमा परिवर्तन पनि चुनौती बनेका छन्।
सन् १९७१ मा इरानको रामसारमा भएको रामसार महासन्धिले सिमसार संरक्षणमा अन्तर्राष्ट्रिय पहल सुरु गरेको हो। नेपाल सन् १९८८ देखि महासन्धिको पक्ष राष्ट्र बनेको छ। हालसम्म कोशीटप्पु, घोडाघोडी, जगदीशपुर, राराताल, फोक्सुन्डो, गोसाइँकुण्ड, गोक्यो लगायतका १३ सिमसार नेपालमा रामसार सूचीमा सूचीकृत छन्।
वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय तहले सिमसार संरक्षणका लागि जनचेतना कार्यक्रम, नीति र कानुनी व्यवस्थासहित विद्यमान पोखरी संरक्षण र नयाँ पोखरी निर्माणको काम अघि बढाइरहेका छन्।
महानिर्देशक डा. बुद्धिसागर पौडेलले सिमसारलाई ‘प्रकृतिको मिर्गौला’ भन्दै यसको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक भएको बताए। सिमसारले पर्यावरणीय सुरक्षा, जलस्रोत संरक्षण र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
