सुनसरी– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशका कारागारमा रहेका २६७ नेपाली कामदारको कैद सजाय माफ गरेको छ। यो निर्णय युएईको ५४औं राष्ट्रिय दिवस ‘इद अल इतिहाद’ को अवसरमा लागू गरिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले बताएअनुसार, ‘कारागारमा रहेका नेपालीले कानुनी प्रक्रिया पूरा गरेपछि मात्र नेपाल फर्कनेछन्। युएई सरकारले प्रदान गरेको यो माफी हाम्रो लागि निकै खुशीको कुरा हो।’
नेपाल सरकारका अनुसार, अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधलाई ध्यानमा राख्दै युएई सरकारले माफीको निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘माफीको लागि नेपाल सरकार युएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। मैत्रीपूर्ण सम्बन्ध र मानवीय दृष्टिकोणका कारण २६७ नेपालीको कैद माफ गर्ने युएईको निर्णयलाई हामी उच्च मूल्यांकन गर्छौं। यसले नेपाल–युएई सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिइन्छ।’
विज्ञप्तिमा थप भनिएको छ कि, ‘अन्य कुनै कानुनी विवाद वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपालीले युएईको कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।’
