सुनसरी— आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का तर्फबाट संखुवासभा क्षेत्रका उम्मेदवार पूर्वराजदूत डा. अर्जुन कार्कीले चुनावी गतिविधिलाई तीव्र बनाएका छन्। उनी यतिबेला जिल्लाका विभिन्न स्थानमा मतदाता तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।
हालै चैनपुरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा डा. कार्कीले संखुवासभाको समग्र विकासका लागि आफूले स्पष्ट खाका तयार गरिसकेको बताए। विगतमा जिल्लाका लागि भएका पहल, उपलब्धि र सम्भावनाबारे मतदातालाई जानकारी गराउँदै उनले विकासका सवालमा भावनाभन्दा योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
चुनावी तयारीलाई थप सशक्त बनाउन एमाले चैनपुर नगर कमिटीले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिसकेको जानकारी पनि उनले दिए। अन्य राजनीतिक दलहरूले पनि जिल्लामा शान्तिपूर्ण रूपमा चुनावी गतिविधि अघि बढाइरहेको उल्लेख गर्दै डा. कार्कीले एमालेले संखुवासभामा आफ्नो राजनीतिक विरासत जोगाउने गरी संगठित तयारी गरिरहेको दाबी गरे।
‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ भन्ने नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका डा. कार्कीले आफू संखुवासभाकै माटोमा जन्मिएको, यहीँ हुर्किएको र देश–विदेशका जिम्मेवारी पूरा गरेर पुनः आफ्नै गाउँठाउँको विकासका लागि प्रत्यक्ष राजनीतिमा होमिएको स्पष्ट पारे।
शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउँदै उनी निर्वाचनको मैदानमा उत्रिएका हुन्। संखुवासभावासीको विकास र रूपान्तरणको आवाज संघीय संसदमा पुर्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रहेको आफ्नो सम्पर्क सञ्जाललाई जिल्लाको हितमा प्रयोग गर्ने संकल्प उनले व्यक्त गरे।
संखुवासभामा जन्मिएका डा. अर्जुन कुमार कार्की नेपालका अनुभवी राजनीतिज्ञ, कूटनीतिज्ञ तथा विकास चिन्तक हुन्। तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्।
नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका–क्यारिबियन क्षेत्रका विभिन्न मुलुकमा राजदूतका रूपमा कार्यरत रहँदा उनले नेपालको कूटनीतिक सम्बन्ध विस्तार र राष्ट्रिय हित प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएका छन्। साथै राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा दीर्घकालीन विकास नीति र राष्ट्रिय प्राथमिकता निर्धारण प्रक्रियामा पनि उनी सक्रिय रहँदै आएका छन्।
२००६ सालमा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै निर्णायक भूमिका खेलेका डा. कार्की निरंकुश शासनविरुद्धको आन्दोलनका महत्वपूर्ण पात्रमध्ये एक मानिन्छन्।
संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियनजस्ता बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील राष्ट्रहरूको पक्षमा आवाज उठाउँदै आएका उनी अब आफ्नै जन्मभूमि संखुवासभाको विकासका लागि संघीय संसदमा बलियो प्रतिनिधित्व गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
“म बाँकी जीवन आफू जन्मिएको थलो र देशको विकासका लागि समर्पण गर्न चाहन्छु,” डा. कार्की भन्छन्।
