सुनसरी — गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन नगर्न स्पष्ट निर्देशन दिएको भए पनि पूर्वी नेपाल, विशेषगरी मोरङ जिल्लामा घुमुवा प्रहरीको गतिविधि अझै रोकिएको नदेखिएको भन्दै गम्भीर जनगुनासो बढ्न थालेको छ । सीमावर्ती नाका, खुला नेपाल–भारत सीमा क्षेत्र र तस्करी संवेदनशील स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरेर अवैध असुली भइरहेको आरोप सार्वजनिक भएको छ ।
केही वर्षदेखि मन्त्रालयले सादा पोशाकमा सुरक्षाकर्मी परिचालनमा कडाइ गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयले पनि सुधार अभियानअन्तर्गत लामो समय एउटै स्थानमा बसेर अनौपचारिक ‘नेटवर्क’ चलाउने घुमुवा प्रहरीलाई कारबाही र सरुवा गर्ने नीति लागू गरेको थियो । सो अभियानका क्रममा देशभर ५० भन्दा बढी प्रहरी कारबाहीमा परेको र धेरैलाई काठमाडौँ तानिएको बताइएको छ ।
तर ती प्रयासका बाबजुद मोरङ जिल्लामा जिल्ला प्रहरी कार्यालयदेखि इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र सीमा प्रहरी युनिटसम्म सादा पोशाकका प्रहरी सक्रिय रहेको आरोप कायमै छ । झापा, मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि बढिरहेका बेला त्यही क्षेत्रमा घुमुवा प्रहरीको बाक्लो उपस्थिति देखिएको स्थानीयको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले सादा पोशाकका प्रहरी अपराध अनुसन्धान, सूचना संकलन र फरार अभियुक्त पक्राउका लागि परिचालन गरिएको बताउँदै आएका छन् । तर व्यवहारमा भने उनीहरू तस्करी लाइन मिलाउने, अवैध कारोबारलाई संरक्षण दिने तथा होटल, लज, क्यासिनो, क्रसर उद्योग र यौन व्यवसायसँग सम्बन्धित क्षेत्रबाट रकम असुलीमा संलग्न हुने गरेको आरोप छ ।
स्थानीय स्रोतका अनुसार केही प्रहरी कर्मचारी अन्य जिल्लामा दरबन्दी भए पनि मोरङमै वर्षौँदेखि घुमुवा भूमिकामा कार्यरत छन् । असुलीबाट उठेको रकम विभिन्न तहसम्म बाँडफाँट हुने गरेको दाबीसमेत गरिएको छ ।
मोरङ प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि प्रहरी उपरीक्षक कटुवालले जिल्लाभर सादा पोशाकका प्रहरी हटाउने अभियान सुरु गरेको बताएका थिए । तर पछिल्लो समय विभिन्न युनिटमा घुमुवा प्रहरीको संख्या घट्नुको साटो बढ्दै गएको आरोप लाग्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा वरिष्ठ प्रहरी नायब निरीक्षक राजेन्द्र कटुवाल, प्रहरी सहायक निरीक्षक नवराज कार्की र प्रहरी सहायक हवल्दार उत्सव थापा घुमुवाको भूमिकामा रहेको आरोप छ । उनीहरू अनुसन्धान र सूचना संकलनको नाममा अवैध गतिविधिसँग जोडिएका पक्षसँग आर्थिक लेनदेनमा संलग्न रहेको जनगुनासो छ ।
त्यस्तै विराटनगर, रानी, सिजुवा, रंगेली, बेलबारी, उर्लाबारी लगायतका इलाकामा पनि लामो समयदेखि सादा पोशाकका प्रहरी परिचालन भइरहेको बताइएको छ । कतिपय प्रहरी अन्य युनिटमा दरबन्दी भए पनि वर्षौँदेखि एउटै क्षेत्रमा घुमुवा जिम्मेवारी सम्हाल्दै आएको विवरण बाहिर आएको छ ।
घुमुवा गतिविधिमा संलग्न रहेको गुनासोपछि केही समयअघि जिम्मेवारी खोसिएका प्रहरीलाई पुनः सोही भूमिकामा फर्काइएको आरोप पनि उठेको छ । यसले प्रहरी सुधार अभियानको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले भने घुमुवाको नाममा अवैध असुली र अनियमित गतिविधि भइरहेको भन्ने आरोप अस्वीकार गरेका छन् । उनका अनुसार पूर्णकालीन रूपमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छैन । विशेष अपरेसनका काममा मात्र सादा पोशाक प्रयोग हुने र काम सम्पन्न भएपछि नियमित बर्दीमै ड्युटी गर्ने व्यवस्था रहेको उनले बताए ।
