सुनसरी- सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मैदानमा उत्रिएसँगै यो क्षेत्रको चुनाव चारध्रुवीय प्रतिस्पर्धामा परिणत भएको छ।
कांग्रेसबाट राजीव कोइराला, एमालेबाट युवा नेता तथा युवा संघ कोशी प्रदेश अध्यक्ष सुजन लामा, नेकपाबाट केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी र रास्वपाबाट कोशी प्रदेश महामन्त्री लालविक्रम थापा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट एमालेका भीम आचार्य निर्वाचित भएका थिए। विगतमा कांग्रेस र एमालेबीच सीमित रहँदै आएको प्रतिस्पर्धामा यसपटक रास्वपाको सक्रिय उपस्थितिले परम्परागत दलहरूको मत समीकरण प्रभावित हुने संकेत देखिएको छ।
गत निर्वाचनमा आचार्यले कांग्रेसका उम्मेदवारलाई करिब ६ हजार मतान्तरले पराजित गरेका थिए। सोही निर्वाचनमा उल्लेख्य मत ल्याएर चर्चा कमाएका रास्वपाका थापा पुनः उम्मेदवार बनेका छन्। घण्टी चिन्हप्रतिको आकर्षण र केन्द्रीय राजनीतिक माहोलले उनको चुनावी अभियानलाई थप ऊर्जा दिएको आकलन गरिएको छ।
कांग्रेसले यसपटक नयाँ अनुहारका रूपमा राजीव कोइरालालाई अघि सारेको छ। सरल, सादगीपूर्ण र युवामैत्री छविका कारण कार्यकर्तामा उत्साह देखिए पनि असन्तुष्ट तथा नयाँ मतदाता जोगाउने चुनौती भने कायम छ। ती मतदाता रास्वपातर्फ आकर्षित हुन सक्ने विश्लेषण गरिन्छ।
उता एमालेका उम्मेदवार सुजन लामा संगठनलाई चलायमान बनाउँदै घरदैलो अभियानमा सक्रिय छन्। परम्परागत मत सुरक्षित राख्दै युवा मतदातालाई तान्ने रणनीतिमा उनी केन्द्रित देखिन्छन्। नेकपाकी उम्मेदवार रामकुमारी चौधरीले पार्टीको आधार मतसँगै थारु समुदायको समर्थन पाउने विश्वास व्यक्त गरेकी छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको चुनावी परिणाम संगठनको मजबुती, मतदाता परिचालन क्षमता र असन्तुष्ट मत कसले आफ्नो पक्षमा ल्याउन सक्छ भन्ने कुरामा निर्भर हुनेछ। कांग्रेस–एमालेको परम्परागत प्रतिस्पर्धाबीच रास्वपाको चुनौती कसलाई कति महँगो पर्छ भन्ने प्रश्नको उत्तर निर्वाचन परिणामले दिनेछ।
