सुनसरी- इटहरीमा नक्कली नम्बर प्लेट प्रयोग गरी अवैध रूपमा सञ्चालन भइरहेका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले प्राप्त विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्दा ती सवारी साधन फेला परेको हो।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कार र इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा बोलेरो गाडी नियन्त्रणमा लिइएको हो।
जाँचका क्रममा दुवै सवारी साधनका नम्बर प्लेट, इन्जिन नम्बर र चेचिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखसँग मेल नखाने पाइएको प्रहरीले जनाएको छ। आवश्यक कागजातसमेत नभएको र सवारी साधनका पहिचान नम्बर परिवर्तन गरी कानून विपरीत सञ्चालन गरिएको पुष्टि भएपछि प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवै सवारी साधनलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतु बन्ध कोशी ब्यारेजमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
