सुनसरी– प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रचारप्रसारको मिति फागुन ४ गतेदेखि १८ गतेसम्म तोकेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले सो अवधिभित्रै निर्वाचन आचारसंहिता पालना गर्दै प्रचार गर्नु पर्नेछ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले निर्वाचन चिह्न प्राप्त गरेपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न सकिने स्पष्ट पारे। तर ठूला आमसभा, गोष्ठी र सेमिनार जस्ता दलगत गतिविधि गर्न अनुमति नहुने जानकारी पनि उनले दिए।
‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ। कुनै उल्लंघन भएमा आयोग उजुरीको आधारमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार राख्छ,’ उनले बताए।
साथै, भण्डारीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको पद फागुन २१ गतेपछि रिक्त हुने र सो रिक्त स्थानमा नयाँ निर्वाचन हुने जानकारी दिएका छन्। निर्वाचन आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्षको जिम्मेवारी अपरिहार्य रहेको बताएको छ।
