सुनसरी- राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकका लागि सार्वजनिक गरेको तथ्याङ्कले देशको आर्थिक गतिविधिमा मिश्रित संकेत देखाएको छ । कृषिमा उत्पादक मूल्य बढ्दै गएको छ भने उद्योग क्षेत्रमा सीमित सुधार देखिएको छ । निर्माण क्षेत्रमा भने लागत मूल्य घटेर केही राहतको अवस्था देखिएको कार्यालयले जनाएको छ ।
तथ्याङ्कअनुसार पहिलो त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले बढी हो । मकै, धान र कोदो जस्ता प्रमुख अन्नबालीको मूल्य बढ्नु नै यस वृद्धिको मुख्य कारण हो । यी अन्नबालीले सूचकाङ्कको करिब ५८ प्रतिशत भार ओगटेकाले मूल्य परिवर्तनले समग्र कृषि क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । साथै, दुध, अण्डा र माछाजस्ता पशुपन्छीजन्य उत्पादनको मूल्य बढ्नुले पनि सूचकाङ्कलाई माथि तानेको छ । यसले कृषकको आम्दानीमा केही सुधार देखाए पनि खाद्य वस्तुको मूल्य बढ्दै जाने जोखिम कायम रहेको संकेत गरेको छ ।
उद्योगतर्फ, समग्र औद्योगिक उत्पादक मूल्य सूचकाङ्क १६४.२६ पुगेको छ, जुन अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा करिब ३ प्रतिशतले वृद्धि हो । कच्चा पदार्थ, ऊर्जा र श्रम लागत बढ्नुले उद्योगमा लागत दबाब बढेको तथ्याङ्कले देखाउँछ । सिमेन्ट, वनस्पति तेल, सुर्तीजन्य वस्तु, साबुन तथा डिटर्जेन्ट, खाद्य तथा पेय पदार्थ उद्योगमा मूल्य वृद्धि बढी देखिएको छ । तर फलामजन्य सामग्री, प्लाष्टिक पाइप, इँटा र चामलजस्ता निर्माणसँग जोडिएका उद्योगमा मूल्य वृद्धि कमजोर वा ऋणात्मक देखिएको छ ।
औद्योगिक उत्पादन सूचकाङ्क १२५.२ कायम भएको छ । खाद्य तेल, पेट्रोलियमजन्य वस्तु र रासायनिक पदार्थको उत्पादन बढे पनि सिमेन्ट, फलाम र कपडा उद्योगमा उत्पादन विस्तार सुस्त देखिएको छ ।
निर्माण क्षेत्रमा भने पहिलो त्रैमासिकमा लागत मूल्य सूचकाङ्क १५२.३ पुगेको छ । वार्षिक रूपमा लागत १.४ प्रतिशतले बढे पनि अघिल्लो त्रैमासको तुलनामा १.३९ प्रतिशतले घटेको छ । सिमेन्ट, आइरन रड, बालुवा, काठ र रोडाजस्ता निर्माण सामग्रीको मूल्य घट्नु यसको मुख्य कारण हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यी तथ्याङ्कहरू मुद्रास्फीति विश्लेषण र आर्थिक नीति निर्माणका लागि महत्वपूर्ण आधार बन्नेछन् ।
